रौतहट । रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मौलापुर नगरपालिका २ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा आइतबार बिहान करिब १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका २ शीतलपुर निवासी ५३ वर्षीय चालक त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरिया देवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान करिब ५ बजे सोमरिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते त्रिविक्रम र सीमा कुमारीको हाल उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको छ । इलाका प्रहरी कार्यालय, मौलापुरले घटनाको पुष्टि गर्दै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




