नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका ६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालकसहित ७ जना घाइते भएका छन् ।
आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका १ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको हो ।
कावासोती १ हात्तीखोरकी २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पताल र सामान्य घाइते भएका २ जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पण्डितले जानकारी दिए ।
दुर्घटनामा संलग्न अटो चालक कावासोती १ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।




