काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यसैगरी, भोलि (कात्तिक ३ गते, मङ्गलबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएपनि बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।
पर्सि (कात्तिक ४ गते, बुधबार) पनि हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
तराईका धेरैजसो भू-भागमा दिउँसो मौसम सफा रहेपनि बिहानको समयमा कुहिरो र हुस्सुका कारण भिजिबिलिटीमा कमी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।




