बारा । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ५ नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन् । आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।
सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइएकी बालिकालाई चिकित्सकले सोमबार राति १२:२९ बजे मृत घोषणा गरेका थिए ।
घटनाबारे अस्पतालमा खटिएका प्रहरी कर्मचारीबाट जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




