काठमाडाैं । संखुवासभाकाे मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनीहरूकै छिमेकी २६ वर्षीय लोकबहादुर कार्की रहेका छन् ।
हत्या आरोपमा शनिबार प्रहरीले उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ती युवक मृतकका भतिजाे नाता पर्ने प्रहरीले जनाएकाे छ । पक्राउ परेका कार्कीलाई आइतबार सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ ।
ती युवकले आवेगमा एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो ।
तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ रहेकाे स्थानीयहरूले जनाएका छन् । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको बताइएकाे छ ।
गत सोमबार मादीका बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।




