काठमाडौं । काठमाडौंमा बोक्सीको आरोपमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको लुभू बस्ने ३३ वर्षीया महिलाको पेट दुखेर स्वयम्भू ठूलो भर्याङमा झारफुक गराउन जाँदा बोक्सीको आरोप लगाएर कुटपिट गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
सो आरोपमा कुटपिट गर्ने लुभू बस्ने श्रीमान, ४० वर्षीय सानो बुवा दिपेन तामाङ भन्ने दिपेन्द्रकुमार थिङ, मामा दशनारायण महर्जन र ३३ वर्षीय साथी जनार्दन पाण्डे पक्राउ परेका छन् । बोक्सीको आरोप लगाएर कुटपिट गरेको जाहेरी महानगरीय प्रहरी परिसर टेकुमा परेपछि प्रहरीले श्रीमानसहित चार जनालाई भदौ २२ गते पक्राउ गरेको हो ।
सिंहका अनुसार घटना १८ र १९ गते स्वयम्भूमा भएको थियो । श्रीमतीलाई पेट दुखेपछि श्रीमानले उपचार गराउँछु भन्दै दिपेन तामाङलाई देखाउन लगेका थिए । तामाङले ती महिलालाई हेरेपछि बोक्सी लागेको छ भन्दै कुटपिट गर्न लगाएको प्रहरीले जनाएको छ ।
साथै उनीहरू चारै जनाको मिलेमतोमा महिलालाई लछारपछार गरी रातभर कुटपिट गर्नुका साथै शौचालयबाट दिशा समेत ल्याएर खुवाएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । उनीहरूले शरीरका विभिन्न अंगहरूमा कुटपिट गरेको आरोप छ । सो जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।




