काठमाडौं । बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एक दिनका लागि गाउँपालिका प्रमुख भएकी छन् । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम मंगलबार उनले गरेकी हुन् ।
‘गाउँपालिकाको नेतृत्वमा बालबालिका’ नारा सार्थक बनाउन बूढीगंगा गाउँपालिकाले गरेको कार्यक्रममा १६ वर्षीया सुस्मिता ऋषिदेव गाउँपालिकाको अध्यक्ष नियुक्ति भएकी हुन् । बालबालिकाले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नेतृत्वले कसरी काम गर्छन् भनेर उनीहरूलाई अनुभूत गराउन जिम्मेवारी दिइएको बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए ।
बैठकले बालबालिकालाई स्थानीय तहको निर्णय प्रक्रिया, स्थानीय शासनमा बालबालिकाको भूमिकाका विषयमा साझा बुझाइ बनाउन अभिमुखीकरण कार्यक्रम गर्न ५० हजार बजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने र पालिकाले आगामी दिनमा निर्माण गर्ने सबै संरचना बालमैत्री बनाउने निर्णय पनि भएको छ ।
मंगलबार भएका तीन वटै निर्णयलाई औपचारिकता दिन अब बस्ने कार्यपालिका बैठकबाट अनुमोदन गराइने बरालले जानकारी दिए । ऋषिदेवले पनि गाउँपालिका अध्यक्षको रुपमा काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । बुधबारदेखि शुरु हुने कक्षा १२ परीक्षा दिने तयारीमा रहेकी उनले भनिन्, ‘पिछडिएको वर्ग, त्यसमाथि पनि दलित समुदायको एउटी किशोरीका लागि यो एकदमै खुशीको कुरा हो ।’






