काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ६ सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालन गरिएको सो पसल कात्तिक २४ गतेसम्म रहने कर्पोरेसनले जनाएको छ ।
यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले नून प्रतिकिला १८, चिनी प्रतिकिलो ७९ मा र अन्य खाद्यान्नमा प्रतिकिलो पाँचदेखि दश रुपैयाँसम्म छुट पाउने कर्पोरेसनले जनाएको छ ।
कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ ।
पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिन तीन करोड छुट्याएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियतका लागि तीन करोड २५ लाख छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले खाद्य कम्पनीका लागि एक करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रकम छुट्याइएको जनाइएको छ । रासस






