काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । शनिबार बेलुका भएको ग्राण्ड फिनालेमा भरतमणि च्याम्पियन बनेसँगै नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।
भरतमणि विजेता बनेपछि नेकपा एमालेका नेता योगेश भट्टराईले बधाई दिएका छन् । भरतमणि विजेता भएसँगै भट्टराईले भनेका छन्, “बिजेता भरतमणीका साथै उत्कृष्ट बिक्की अनि सन्तोषलाई धेरै धेरै बधाई र शुभकामना । नयाँ र सशक्त पुस्ताको उदय भएको छ, नेपाली हास्य कलाकारीता बिधामा खुशी ब्यक्त गर्दछु ।”
भरतमणिले गरेको पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाहको क्यारिकेचर सर्वाधिक रुचाइएको प्रस्तुतिमा परेको थियो । यस बाहेक घरबेटीको चरित्र पनि उत्तिकै प्रशंसनीय थियो ।
त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् । पछिल्लो पटक ‘पेन्टोमाइम’ अभिनयले उनी चर्चामा रहेका थिए ।
उनको यो प्रस्तुतिमा शोका तीन निर्णायक प्रदीप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रशंसा गरे पनि अर्का निर्णायक सन्तोष पन्तले आलोचना गर्दा सामाजिक सञ्जालमा सन्तोषविरुद्ध अनेक टिप्पणी गरिएको थियो ।
त्यस्तै गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झना लायक प्रस्तुति दिएका थिए । हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।




