काठमाडौं । दशैं मनाउन घर जानेहरुका लागि बसको अग्रिम बुकिङ असोज ११ गतेदेखि खुलाउने निर्णय भएको छ । बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको संयोजकत्वमा बसेको यातायात व्यवसायी, ट्राफिक प्रहरी,प्रहरी, उपभोक्ताकर्मी लगायतको बैठकले ११ गतेबाट लामो दुरीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।
व्यवसायी र सरकारवीच बुकिङ खोल्न यसअघि पनि दुइ पटक बैठक बसेको थियो । उनीहरुले बढेको भाडादर सबै प्रदेशले कार्यान्वयन गर्नुपर्ने, सडकहरु क्षतविक्षत भएकाले मर्मत गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागमा विभागका अधिकारीहरुले पहल गर्ने बताएपछि बुकिङ खोल्न सहमत भएका हुन् ।
प्रधानमन्त्री कार्यालयमा बैठक बसेर सडक मर्मतको विषय टुङग्याउने निर्णय भएको छ । असार अन्तिम साता सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको थियो । विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जाने लामो रुटका यात्रुवाहक सवारीसाधन, ट्रक र अन्य सवारीसाधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको हो ।
प्रदेशभित्र संचालन हुने सवारीसाधनको भाडादर वृद्धिको अधिकार प्रदेश सरकारलाई हुन्छ । संघीय सरकारले गरेको भाडावृद्धि निर्णय प्रदेश १ बाहेकले कार्यान्वयन गरेका छैनन् । सबै प्रदेशले उक्त भाडादर समायोजन गर्नुपर्ने माग व्यवसायीहरुले गर्दै आएका छन् । दशैंमा यात्रुहरुले उक्त बढेको भाडादर तिर्नुपर्ने छ ।
१४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने निर्णय भएको छ । अहिले सरोकारवाला निकायहरुको बैठक गृह मन्त्रालयमा चलिरहेको छ । जसले अनुगमनको विषयमा थप निर्णय गर्नेछ ।




