काठमाडाैं । चाडबाड नजिकिँदै गर्दा बजार भाउ छाेइनसक्नु हुन्छ । चाडपर्वकाे माैका छाेपी उपभाेक्ता ठग्ने काम व्यापारीबाट हुन्छ । यसपाली पनि खाद्यान्न, तरकारीकाे मूल्य ह्वात्तै बढेकाे छ । हरियाे साग त झन् छाेइनसक्नु छ !
भदौ १३ गते कालिमाटीको थोक बजारमा प्रतिकिलो ४५ रुपैयाँ रहेको तोरीको सागको मूल्य अहिले बढेर ७५ रुपैयाँ पुगिसकेको छ । यस्तै, उक्त मितिमा प्रतिकिलो ७५ रुपैयाँ मूल्य रहेको रायोको सागको मूल्य अहिले १५५ रुपैयाँ पुगिसकेको छ । यो थोक मूल्य हो ।
अहिले रायोको सागको खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँभन्दा पनि बढी छ । यस्तै, तोरीको सागको मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा बढी पुगेको छ । पछिल्लो एक महिनायता तरकारीको मूल्य बढिरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ ।
भदौ १३ गते प्रतिकिलो २० रुपैयाँ थोक मूल्य रहेको तीते करेलाको मूल्य आज (बुधबार) ९५ रुपैयाँ पुगेको छ । साेही मितिमा प्रतिकिलाे २० रूपैयाँ थाेक मूल्य रहकाे घिराैला आज प्रतिकिलाे ७५ पुगेकाे छ । यस्तै आलु, सीमी, करेला, पर्वर, प्याज, धनियाँ, भिण्डीकाे मूल्य पनि याे महिनामा अधिकतम बढेकाे छ ।
भदाे १३ मा प्रतिकिलाे २०५ थाेक मूल्य रहेकाे हरियाे धनियाँ आज ३३५ पुगेकाे छ । तीते करेला २० बाट एक महिनामा बढेर थाेक मूल्य नै ९५ रूपैयाँ पुगेकाे छ । सुकेकाे प्याज र लसुनकाे भाउ पनि वृद्धि भएको छ ।
हरियाे खुर्सानी, डल्ले च्याउ, हरियाे छ्यापी, हरियाे फर्सीकाे मूल्य भने घटेकाे छ ।






