काठमाडाैं । नेकपा एमालेका नेता एवम् प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि साे पदमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै उनले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।
नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।
प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ । सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को ९२० बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।






