काठमाडाैं । उदयपुरमा एक वृद्धले श्रीमतीको हत्या गरेका छन् । जिल्लाकाे लिमचुङबुङ गाउँपालिका–५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षीय कान्छी श्रीमती चतुरमाया राईको हत्या गरेका हुन् ।
उनले कार्तिक ३० गते राति खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या गरि आत्महत्याको प्रयास गरेकाे प्रहरीले जनाएकाे छ । आफैँले घाँटी रेटेर घाइते भएको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए ।
प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ । कान्छीलाई धेरै माया गरेको तर, आफुसँग नबसेर छुट्टै बस्न थालेपछि उनलाई चित्त नबुझेर हत्या योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् । छुट्टै बस्नुअघि उनीहरुको बीचमा झैझगडा पनि भएको थियो । झगडा गरेर छुट्टै बसेपछि श्रीमतीलाई शंका गर्न थालेका थिए । चतुरमायाको हत्यापछि आरोपीले जेठी श्रीमतीको घरमा आएर आत्महत्याको प्रयास गरेका हुन् ।






