काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘समस्याको समाधान हामीले समर्थन फिर्ता लिएर मात्रै हुँदैन् । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरु दलहरुले हिम्मत गर्नुपर्यो । प्रमुख प्रतिपक्षी दल वेटिंग ईन गभर्मेन्ट हो । सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्यो नि । हामी त नेकपा सरकारमै थियौं ।’ तर, आफूहरु अहिले सरकारमा नभएको उनको भनाई छ ।
माओवादी केन्द्रका साथीहरु एमालेमै समाहित भएको पनि उनले सुनाए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुन सक्ने उनले सम्भावना सुनाए । सरकारमा सहभागी भएका माओवादी केन्द्रका साथीहरुलाई आफूहरुले पार्टीमा फर्कन अनुरोध गरेको सुनाए ।
उनले नेकपा एमाले नफुटोस भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘आन्दोलन नफुटाऔं । कांग्रेस पनि एक ढिक्का हुनुपर्छ । माओवादीलाई त्यस्तो समस्या छैन् । एमालेभित्र देखिएको समस्या निषेध गर्नुहुन्न क्या ।’
सरकारको नेतृत्व गर्ने गरि कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएर नआए आफूहरुले के गर्ने ? भन्ने बारे अहिले छलफल गरिरहेको स्पष्ट पारे । उनले पार्टीको नाम परिवर्तन बारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको सुनाए ।
उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जिकिर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरुको समर्थन हुने उनको भनाई छ । नेता शर्माले देशको राजनीतिक परिस्थिति अलि अलि गम्भीर नै रहेको सुनाए ।






