रौतहट । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसबाट फतुवा विजयपुर नगरपालिकाको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका युवा नेता ज्ञानेन्द्र यादवले नगरवासीसँगको भेटघाट र संवादलाई तीव्रता दिएका छन् ।
दसैँ, दीपावली तथा आउँदै गरेको छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई यादवले स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन् । नगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर उनले स्थानीयका समस्या, आवश्यकता र विकाससम्बन्धी सुझाव संकलन गरिरहेका छन् ।
यसैक्रममा मंगलबार वडा नम्बर ६ स्थित पेटभर्वा गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनी सहभागी भए । सोमबार पनि अर्को कार्यक्रममा सहभागी भएर उनले स्थानीयसँग भेटघाट तथा छलफल गरेका थिए ।
पेटभर्वामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यादवले आफूलाई नेताका रूपमा नभई गाउँलेहरूको भाइका रूपमा प्रस्तुत गरे । चुनावको मुखमा मत माग्न नभई अग्रजहरूको सल्लाह, सुझाव र आशीर्वाद लिन गाउँ आएको उनको भनाइ थियो ।
‘म कुनै नेता होइन, तपाईंहरूकै भाइ हुँ । अहिले चुनाव आउन धेरै समय बाँकी छ । म मत माग्न आएको होइन, तपाईं अग्रजहरूको सल्लाह, सुझाव र आशीर्वाद लिन आएको हुँ,’ उनले भने ।
यादवले आफू अहिलेसम्म कुनै सार्वजनिक पदमा नरहे पनि फतुवा विजयपुर नगरपालिका र समग्र निर्वाचन क्षेत्र नम्बर ३ को विकास तथा स्थानीय नागरिकका समस्या समाधानका लागि निरन्तर सक्रिय रहँदै आएको दाबी गरे । विगतमा आफ्नो पहलमा भएका विकास निर्माणका कामबारे पनि उनले स्थानीयलाई जानकारी गराए ।
उनका अनुसार २०७० सालमा उनका भाइ सुनिलकुमार यादव (जितेन्द्र) रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पेटभर्वावासीको मागअनुसार पेटभर्वा र बाराको मलाही जोड्ने अडुवा नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउनेदेखि निर्माण सम्पन्न गराउन पहल गरिएको थियो ।
त्यस्तै, विजयपुरदेखि पेटभर्वासम्मको सडक कालोपत्रे गराउने काममा पनि आफ्नो भूमिका रहेको उनले बताए । उनका दाजु प्रदेशको अर्थमन्त्री बनेपछि पेटभर्वादेखि टेङ्ग्राहसम्म करिब पौने पाँच करोड रुपैयाँको लागतमा सडक कालोपत्रे भएको यादवले उल्लेख गरे ।
विगतका कामसँगै उनले आगामी दिनमा पेटभर्वाको विकासका लागि थप योजनासमेत अघि सारे । पेटभर्वादेखि रामदासी जोड्ने अलपत्र सडक मर्मत गर्ने तथा आवश्यक स्थानमा कल्भर्ट निर्माण गराउने उनको प्रतिबद्धता थियो ।
पेटभर्वास्थित माध्यमिक विद्यालयको भवन निर्माणका लागि नगरपालिकामार्फत बजेट ल्याउन आफूले पहल गरेको उल्लेख गर्दै उनले विद्यालयमा कम्पाउन्ड वाल निर्माण र शिक्षक व्यवस्थापनका लागि पनि आवश्यक पहल गर्ने बताए ।
कार्यक्रममा यादवले पेटभर्वा गाउँको नाम परिवर्तन गर्ने विषयलाई लिएर पेटभर्वा र दुबंशीबीच देखिएको विवादप्रति पनि चासो व्यक्त गरे । गाउँको नाम परिवर्तनबाट कुनै पक्षलाई विशेष लाभ नहुने भन्दै उनले यसले स्थानीयबीचको सामाजिक सद्भाव र एकतामा असर पार्न सक्ने बताए ।
‘गाउँको नाम परिवर्तन गराएर कसैलाई फाइदा हुनेवाला छैन । बरु यसले गाउँमा द्वन्द्व निम्त्याउन सक्छ । पहिलेकै नाम कायम राखेर आपसी समझदारी र मेलमिलापका साथ बस्न म आग्रह गर्छु,’ उनले भने । विवाद समाधानका लागि आफूले पनि आवश्यक पहल गर्ने उनको भनाइ थियो ।
शिक्षा र पूर्वाधारसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेका यादवले स्थानीय युवाहरूको मागअनुसार पेटभर्वाको क्रिकेट मैदान छिट्टै मर्मत गराउने र खेलाडीहरूका लागि ड्रेसको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रममा विकास निर्माण, शिक्षा, खेलकुद र सामाजिक सद्भावका विषयलाई प्राथमिकता दिँदै यादवले स्थानीयका गुनासा र सुझाव सुन्ने प्रयास गरेका छन् ।
आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षीका रूपमा चर्चामा रहेका यादवको गाउँ गाउँमा भइरहेको सक्रियतालाई राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको छ ।
निर्वाचन आउन अझै समय बाँकी रहेकाले अहिले नै मत माग्नुभन्दा जनताको भावना बुझ्ने, उनीहरूका समस्या पहिचान गर्ने र विकासका सवालमा सहकार्य गर्ने आफ्नो उद्देश्य रहेको यादवले बताएका छन् ।




