काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग सार्वजनिक अभिव्यक्तिबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
प्रदेश समितिले यादवलाई पठाएको पत्रमा पार्टीका विभिन्न कार्यक्रममा उनले व्यक्त गरेका भनाइ समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र त्यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले २०८३ कात्तिक ९ गते प्रेस विज्ञप्ति जारी गरेको उल्लेख छ ।
उक्त घटनाबारे यादवको भनाइ र वास्तविकता स्पष्ट गर्न प्रदेश समितिले पाँच वटा प्रश्नमा बुँदागत जवाफ मागेको छ । समितिले सार्वजनिक भिडियोमा देखिएको अभिव्यक्ति यादवकै हो वा होइन भन्ने स्पष्ट पार्न भनेको छ । अभिव्यक्ति आफ्नै भए त्यसको उद्देश्य, सन्दर्भ र आशय खुलाउन पनि पत्रमा भनिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखलाई लक्षित गरी व्यक्त गरिएका भनाइ तथा लगाइएका आरोपको आधार र त्यसलाई पुष्टि गर्ने तथ्य वा प्रमाण उपलब्ध भए पेस गर्न निर्देशन दिइएको छ ।
प्रहरीको विज्ञप्तिमा उल्लेख भएअनुसार परिवारकी एक महिला सदस्य हराएको भन्दै यादवले दिएको खोजतलाससम्बन्धी निवेदनको घटनाबारे पनि स्पष्टीकरण मागिएको छ । उक्त प्रकरणमा पदको दुरुपयोग गरी प्रहरीमाथि दबाब दिएको भन्ने प्रहरीको दाबीप्रति आफ्नो धारणा स्पष्ट पार्न पत्रमा भनिएको छ ।
प्रहरी कार्यालय घेराउ गर्ने, धम्की दिने वा अनुचित दबाब सिर्जना गर्ने आशयको अभिव्यक्ति दिएको भए त्यसको उद्देश्य र आधार खुलाउन पनि समितिले भनेको छ । साथै यादवको सार्वजनिक अभिव्यक्ति पार्टीको विधान, अनुशासन र आचारसंहितासँग सम्बन्धित रहेकाले त्यो विषयमा पनि धारणा मागिएको छ ।
प्रदेश समितिले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट, तथ्यपरक र प्रमाणमा आधारित जवाफ पेस गर्न निर्देशन दिएको छ । तोकिएको अवधिमा जवाफ नदिएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टीको विधान, आचारसंहिता तथा सम्बन्धित कार्यविधिअनुसार आवश्यक निर्णय प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।
स्पष्टीकरण माग्नुका साथै प्रदेश समितिले निलम्बित अवस्थामा रहेका यादवलाई अर्को निर्णय नभएसम्म सार्वजनिक कार्यक्रममा पार्टीको प्रतिनिधित्व नगर्न, पार्टीका भेला तथा बैठकमा सहभागी नहुन र जिल्ला पार्टी कार्यालय नियन्त्रणमा लिएर प्रयोग नगर्न निर्देशन दिएको छ ।
साथै, जिल्ला पार्टी कार्यालयको साँचो प्रदेश सभापतिमार्फत धनुषाका कार्यवाहक सभापतिलाई तीन दिनभित्र हस्तान्तरण गर्न पनि पत्रमा भनिएको छ । पत्रको बोधार्थ रास्वपाको केन्द्रीय सचिवालय, केन्द्रीय संगठन विभाग र केन्द्रीय अनुशासन आयोगलाई पठाइएको छ ।




