काठमाडौं । मधेश प्रदेशमा फेरि राजनीतिक किचलो सुरु भएको छ । मधेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको सरकार अप्ठेरोमा परेको हो । एमालेले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । मधेशमा कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री छन् ।
एमालेले कांग्रेस र नेपाली कम्यनिष्ट पार्टीबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण तया जनहितका विषयलाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न १५ बुँदे समझदारी भएकोमा उक्त समझदारी पूरा नभएकाले समर्थन फिर्ता लिएको जनाएको छ ।
एमालेबाट प्रदेश सरकारमा रहेका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुदमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।
केन्द्रमा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकार अस्थिर बनेको हो । एमालेले सुदूरपश्चिम प्रदेशबाट कांग्रेस नेतृत्वमा रहेको सरकारबाट बाहिरिन थालेको हो । एमाले र नेकपाबीच सहकार्य भएसँगै कोशी, बागमती, लुम्बिनी, कर्णालीमा सरकार फेरबदल भएको छ ।




