सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ४ हरैयामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुर्घटनामा हरैया निवासी ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको हो ।
मलङ्गवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलले सिंहलाई ठक्कर दिएको थियो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा चालक गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका १ किसनपुर निवासी २२ वर्षीय पुरुषोत्तम राय यादव रहेको प्रहरीले जनाएको छ । उनको सिटी अस्पताल, हरिपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




