काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर चलचित्र बहिष्कारको अभियान चलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’का लिडरको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले कडा प्रतिक्रिया जनाएका हुन् ।
चलचित्र ‘छ माया छपक्कै २’ को प्रदर्शनको नवौँ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दीपकराजका पुराना अभिव्यक्तिका भिडियो क्लिपहरू भाइरल भइरहेका छन् । चलचित्रले अपेक्षाअनुसार व्यापार गर्न नसकेको चर्चा चलिरहेका बेला उनका अभिव्यक्तिलाई लिएर चलचित्र बहिष्कार गर्नुपर्ने आशयका भिडियोहरू सार्वजनिक भएका हुन् ।
यसैबीच दीपकराजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो भनाइलाई गलत अर्थ लगाइएको दाबी गरेका छन् । उनले कसैलाई लखेट्ने, पिट्ने वा भगाउने कार्य गलत भएको र असहमति भए बौद्धिक रूपमा प्रतिवाद गर्नुपर्ने आफ्नो आशय रहेको स्पष्ट पारेका छन् ।
तर, केही अतिवादी कार्यकर्ताले आफ्नो अभिव्यक्तिका बीचका अंश सम्पादन गरेर गलत व्याख्या गर्दै तस्बिरसहित बहिष्कारको नारा लगाएको उनको आरोप छ । उनले लेखेका छन्, ‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन । यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ भनेको यही नै थियो ।’
दीपकराजले हरेक विषयमा जातीयता जोडेर समाजमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिको समेत विरोध गरेका छन् । वर्षौंदेखि कायम रहेको सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउँदै राजनीतिक स्वार्थ पूरा गर्न खोजिएको उनको टिप्पणी छ । कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रमा समेत जातपातको विषय प्रवेश गराएर घृणा फैलाउने गतिविधिको आफू सधैँ विपक्षमा रहने उनले बताएका छन् ।
उनले स्टाटसको अन्त्यमा लेखेका छन्, ‘जात, पात, धर्म भनेको श्राद्ध र पूजाआजामा काम लाग्ला, राजनीतिमा लाग्दैन । जय नेपाल !’ चलचित्र ‘छ माया छपक्कै २’ को व्यापार र दीपकराजका पुराना अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका बेला उनको पछिल्लो प्रतिक्रियाले थप चर्चा पाएको छ ।




