काठमाडौं । मौलिक काठे लोकदोहोरीको स्वाद बोकेको नयाँ गीत ‘निष्ठुरे’ सार्वजनिक भएको छ । गायिका स्मृति गौतम र चर्चित काठे लोकदोहोरी गायक सरोज लामिछानेको स्वरमा रहेको गीतले प्रेम, सम्बन्ध, मिलन बिछोडसँगै ग्रामीण जीवनका भोगाइलाई कथात्मक शैलीमा प्रस्तुत गरेको छ ।
सरोज लामिछानेको शब्द तथा लय सिर्जना रहेको गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् । लामिछानेको मौलिक काठे भाकाको शैली र स्मृति गौतमको भावनात्मक गायकीले गीतलाई फरक स्वाद दिएको छ ।
‘निष्ठुरे’को भिडियोमा प्रेम सम्बन्धमा आउने उतारचढावसँगै गाउँघरको जीवनशैली र स्थानीय परिवेशलाई कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । भिडियोमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, फटकशिला तथा काभ्रेको सिपाघाट आसपासका ग्रामीण र प्राकृतिक दृश्य समेटिएका छन् ।
भिडियोमा आयुष्मा कार्की, आर.के. परियार र दीपक रिजालले अभिनय गरेका छन् । खमेश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन रामकृष्ण कँडेलले गरेका हुन् । डी.के. हमालको मेकअप, उमेश शाहको ड्रोन छायांकन तथा कल्पेश विश्वकर्माको सम्पादन रहेको छ ।
गीतमा प्रेममा आउने पीडा, सम्बन्धमा देखिने उतारचढाव र जीवनका संघर्षलाई गाउँले परिवेशसँग जोडिएको छ । सरल शब्द, मौलिक लय र भावनात्मक प्रस्तुतिका कारण ‘निष्ठुरे’ले पुराना लोकभाका रुचाउनेदेखि नयाँ पुस्ताका श्रोतासम्मलाई जोड्ने प्रयास गरेको छ ।
मौलिक लोकसंगीतमा निरन्तर सक्रिय स्मृति गौतमले लोकभाका, ग्रामीण जीवन र नेपाली समाजका भावनालाई आफ्ना सिर्जनामा प्राथमिकता दिँदै आएकी छन् । यता सरोज लामिछाने काठे लोकदोहोरीमा मौलिक शब्द, भाका र प्रस्तुतीकरणका लागि परिचित छन् ।
आधुनिक शैलीका गीतको प्रभाव बढिरहेको समयमा ‘निष्ठुरे’ले भने काठे लोकदोहोरीको मौलिक स्वादलाई केन्द्रमा राखेको छ । गीतको भिडियो स्मृति गौतमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रेमको कथा मात्रै नभई गाउँको जीवन, सम्बन्धका संवेदना र नेपाली समाजको मौलिक परिवेशलाई गीतमार्फत प्रस्तुत गरिएको ‘निष्ठुरे’ले लोकसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ ।






