काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको विवाद र टीका टिप्पणीका बीच वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले स्पष्टीकरण दिएका छन् । चलचित्रको पूर्ण कथावस्तु नहेरी केही गीत, दृश्य र प्रचार सामाग्रीका आधारमा समग्र चलचित्रबारे धारणा नबनाउन उनको आग्रह छ ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आचार्यले ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभएको स्पष्ट पारेका छन् । उनका अनुसार यो समकालीन नेपाली समाजको कथामा आधारित चलचित्र हो, जसमा महाभारतबाट एउटा सानो विम्ब मात्रै ग्रहण गरिएको छ ।
चलचित्रमा महाभारतका केही पात्रहरूको नाम कथाको सन्दर्भअनुसार प्रयोग गरिएको भए पनि महाभारतको मूल कथावस्तु प्रस्तुत नगरिएको उनको भनाइ छ । त्यस्तै, चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका पनि नरहेको उनले स्पष्ट पारेका छन् ।
‘चलचित्र प्रदर्शनमा आउन बाँकी नै रहेको र यसको पूर्ण कथावस्तु दर्शकसमक्ष प्रस्तुत हुन बाँकी रहेको अवस्थामा केही गीत, दृश्य वा प्रचार सामाग्रीका आधारमा समग्र चलचित्रबारे धारणा बनाउनु न्यायोचित हुँदैन,’ आचार्यले लेखेका छन् ।
उनले दर्शक, शुभचिन्तक तथा सरोकारवालालाई चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुति बुझेर मात्रै आफ्नो धारणा बनाउन अनुरोध गरेका छन् ।




