काठमाडौं । चितवनका युवा मोडल देव आरएन अभिनित दुई फरक भाषाका म्युजिक भिडियो एकैदिन सार्वजनिक भएका छन् । शुक्रबार सार्वजनिक गरिएका ‘तिम्रो साथ’ र ‘रिङ्ग रिङ्ग’ बोलका गीतमार्फत देव पुन: दर्शकमाझ प्रस्तुत भएका हुन् ।
रोमान्टिक भाव बोकेको ‘तिम्रो साथ’ गीतमा चर्चित गायक प्रताप दास र गायिका अनु चौधरीको स्वर सुन्न सकिन्छ । गीतका शब्द तथा संगीत सरोज पोख्रेलले तयार पारेका हुन् भने संगीत संयोजन देबेश राईले गरेका छन् । सरोज पोख्रेलकै प्रस्तुति रहेको यस गीतको भिडियोको निर्देशन राजिव सुमरले गरेका छन् ।
भिडियोमा देव आरएनसँग मोडल कृतिका पौडेलको जोडी देख्न सकिन्छ । चितवनका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरिएको भिडियोको क्यामेरामा ओमराज लामा र मिलन सुनार छन् भने सम्पादन पनि उनीहरूकै रहेको छ ।
यसैगरी, देव अभिनित मैथिली भाषाको गीत ‘रिङ्ग रिङ्ग’ पनि शुक्रबार नै सार्वजनिक गरिएको छ । त्रिकोण इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस गीतमा देवसँग काजल कर्णको अभिनय रहेको छ । गीतका शब्द, संगीत तथा स्वर सुमित मल्लिकको रहेको छ भने भिडियो निर्देशन राजिव सुमरले नै गरेका हुन् ।
मिलन सुनारले छायांकन तथा सम्पादन गरेको यो भिडियो पनि चितवनकै रमणीय स्थानहरूमा खिचिएको हो । यसअघि केही दिनअघि मात्रै देव आरएन अभिनित लघु चलचित्र ‘आई लभ यू मम’ सार्वजनिक भएको थियो । त्यससँगै उनी अभिनित थप केही म्युजिक भिडियो पनि निकट भविष्यमा सार्वजनिक हुने तयारीमा रहेको बताइएको छ ।






