महोत्तरी । महोत्तरीमा सीमा सुरक्षा तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो सात महिनाको अवधिमा एकल तथा संयुक्त कारबाहीबाट साढे ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निगरानी र गस्तीलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसै क्रममा महोत्तरीको सम्सी गाउँपालिका ७ स्थित खत्वे टोलबाट भारतबाट भन्सार छली गरी ल्याइएको आशङ्कामा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित कपडा बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका डीएसपी गणेशदत्त पाण्डेयको कमान्डमा खटिएको सात सदस्यीय गाडी मोबाइल टोलीले गत आइतवार उक्त सामाग्री नियन्त्रणमा लिएको हो । बरामद गरिएका मोटरसाइकल तथा कपडाको अनुमानित मूल्य ६ लाख ७२ हजार रुपैयाँ रहेको जनाइएको छ । नियन्त्रणमा लिइएका सामाग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
सात महिनामा करोडौँको सामान नियन्त्रणमा
मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार २०८२ चैत १ गतेदेखि २०८३ कात्तिक ८ गतेसम्म सञ्चालन गरिएका विभिन्न एकल तथा संयुक्त अभियानबाट कुल ४ करोड ६९ लाख ८१६ रुपैयाँ ८० पैसा बराबरका सामग्री बरामद गरिएको छ ।
प्राप्त विवरण अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रघुनाथपुरले एकल कारबाहीमार्फत ४७ लाख ५ हजार ६३८ रुपैयाँ २० पैसा मूल्यका सामान नियन्त्रणमा लिएको छ । त्यस्तै, गणसँगको संयुक्त अभियानबाट २ करोड ५५ लाख ९० हजार रुपैयाँ बराबरका सामाग्री बरामद भएको विवरणमा उल्लेख छ ।
गुल्म तथा मातहतका सीमा सुरक्षा पोस्ट (बीओपी) बाट गरिएको बरामदीको छुट्टै विवरणमा ९७ लाख ७४ हजार १७८ रुपैयाँ ६० पैसा बराबरका सामान समेटिएका छन् । यी तथ्यांकले सीमा क्षेत्रमा अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले विभिन्न तहमा प्रभावकारी परिचालन र कारबाही अघि बढाएको देखाउँछ ।
सीमा सुरक्षासँगै सामाजिक सेवामा पनि योगदान
सीमा सुरक्षा गुल्म हेडक्वार्टर रघुनाथपुरले अवैध कारोबार नियन्त्रण र राजस्व संरक्षणसँगै सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन सामाजिक गतिविधिलाई समेत प्राथमिकता दिएको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत १६ जना अशक्त व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको छ ।
त्यसैगरी, गुल्मले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण तथा औषधोपचार सेवा प्राप्त गरेका छन् । सुरक्षा निकायको यस किसिमको पहलले सीमा क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउनुका साथै प्रहरी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
बरामदीसँगै तस्करीको सञ्जालमा प्रहार आवश्यक
मधेश प्रदेशको नेतृत्व डीआईजी विष्णु भट्टले सम्हालेपछि भन्सार छली, अवैध सामान ओसारपसार तथा सीमावर्ती आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ ।
सीमा क्षेत्रमा नियमित गस्ती, भरपर्दो सूचना सङ्कलन, सम्बन्धित निकायबीचको समन्वय र स्थानीय नागरिकसँगको सहकार्यलाई निरन्तरता दिन सके अवैध कारोबार नियन्त्रण थप प्रभावकारी बन्ने देखिन्छ ।




