सिरहा । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजारको ठेक्का र राजस्व छुटसम्बन्धी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख देवनाथ साह तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा हाटबजारको ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गर्ने गरी दिइएको, सम्झौताअनुसार राजस्व असुल नगरी बाँकी रकमसमेत हिनामिना गरिएको तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याइएको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो ।
अनुसन्धानका क्रममा तत्कालीन नगर प्रमुख साह, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, रामनारायण महतो, अनन्तकुमार पौड्याल, राजस्व शाखा प्रमुख दिनेश सहनी र ठेक्केदार वीरेन्द्रकुमार यादवले मिलेमतो गरी बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई आफूलाई गैरकानुनी लाभ पुर्याएको देखिएको अख्तियारको दाबी छ ।
आयोगका अनुसार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने पशु हाटबजार, बाख्रा हाटबजार र गुद्री हाटबजार सञ्चालन बापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो ।
तर, नगर कार्यपालिकाको निर्णय तथा प्रचलित कानुनविपरीत राजस्व छुट दिइएको र प्रतिस्पर्धाबिनै अमानतमा ठेक्का सञ्चालन गर्न दिइएको आरोप छ । अख्तियारले सार्वजनिक सम्पत्तिमा भएको हानिनोक्सानीको बिगो एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा कायम गरेको छ ।
उक्त रकम बराबरको बिगो मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । आयोगले यस प्रकरणमा संलग्न रहेको आरोपमा सम्बन्धित प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ ।




