सर्लाही । खेतभरि धानका बाला पहेँलपुर बनेका छन् । कतै धान काट्न बाँकी छ, कतै काटिएको धान खेतमै छ । कतै पराल थन्क्याउनुपर्ने चटारो छ । तर, यी सबै काम समयमै सक्न किसानले पर्याप्त कामदार पाएका छैनन् । पाकेको धान खेतमै छाड्नुपर्ने अवस्था आएपछि सर्लाहीका किसानलाई यस वर्ष धान भित्र्याउने चिन्ताले सताएको छ ।
जिल्लाको उत्तरी भेगमा धान पाकेर काट्ने बेला भइसकेको छ । तर, खेतमा उभिएको बाली भित्र्याउन आवश्यक जनशक्ति नहुँदा किसानलाई सकस परेको हो । घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया र हरिवनलगायत क्षेत्रमा कामदार अभावको समस्या देखिएको छ ।
सामान्यतया धान पाकेपछि काट्ने, झार्ने र घरमा ल्याएर सुरक्षित राख्ने काममा किसान व्यस्त हुन्छन् । यस वर्ष भने धान काट्ने समयमै कामदार खोज्नुपर्ने बाध्यता छ । दसैँका बेला गाउँ फर्किएका आफन्त तथा परिवारका सदस्यलाई समेत साथमा लिएर किसान धान काट्न बाध्य भएका छन् ।
दसैँ ढिलो परेकाले यसपालि चाडपर्व मनाउने र पाकेको धान भित्र्याउने समय एकैपटक परेको छ । किसानका लागि चाडपर्वको खुसीसँगै बाली सुरक्षित रूपमा घरसम्म पुर्याउने चिन्ता थपिएको छ । खेतमा पाकेको धान समयमै काट्न नसके उत्पादन घट्ने र मौसमले साथ नदिए थप क्षति हुने जोखिम छ ।
कामदारको खोजीमा किसान, दक्षिणबाट आउने पनि पर्याप्त छैनन्
सर्लाहीको दक्षिणी भेगमा धान ढिलो पाक्ने भएकाले त्यहाँबाट केही कामदार उत्तरी क्षेत्रमा धान काट्न आएका छन् । तर, उनीहरूको सङ्ख्या मागअनुसार पर्याप्त छैन । सीमित कामदारका लागि किसानबीच प्रतिस्पर्धा हुन थालेको छ ।
गाउँघरमै खेतीपातीका लागि आवश्यक जनशक्ति पाउन मुस्किल हुँदै गएको छ । पहिले छिमेकी मिलेर एकअर्काको खेतमा काम गर्ने अर्मपर्मको चलन थियो । अहिले यस्तो परम्परा कमजोर बन्दै जाँदा किसानलाई खेतीको मुख्य समयमा झन् समस्या परेको छ ।
कामदार अभावले धान काट्ने काम मात्र प्रभावित भएको छैन । काटिएको धान र पराल खेतबाट घरसम्म पुर्याउन पनि उत्तिकै कठिनाइ भइरहेको छ । खेतमा बाली तयार भएपनि आवश्यक जनशक्ति नहुँदा किसानले समयमै काम सक्न सकेका छैनन् ।
मौसमको चिन्ता, खेतमै किरा लाग्न थालेपछि झन् हतार
कामदार अभावका बीच मौसमको सम्भावित परिवर्तनले किसानको चिन्ता थपेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ गतेदेखि वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई पाकेको धान छिटो भित्र्याउनुपर्ने दबाब परेको छ ।
वर्षा भए काट्न बाँकी धानबालीमा क्षति पुग्न सक्ने, काटिएको धान सुकाउन समस्या हुने र भित्र्याउने काम प्रभावित हुने चिन्ता किसानमा छ । त्यसैले कामदार पर्याप्त नभए पनि उपलब्ध जनशक्तिबाट जसोतसो धान काट्ने प्रयास भइरहेको छ ।
केही क्षेत्रमा धानमा किरा लागेर बाला काटिन थालेपछि समस्या थप गम्भीर बनेको छ । खेतमा धानका बाला झर्न थालेपछि किसानलाई बाली जोगाउन हतार भएको छ । तर, कामदार नपाउँदा चाहेर पनि सबै खेतको धान एकैपटक काट्न सक्ने अवस्था छैन ।
मेसिनको विकल्प छ, तर सबै कामको समाधान होइन
धान काट्नका लागि पछिल्लो समय हाते मेसिनको प्रयोग सुरु भएपनि त्यसको उपलब्धता पर्याप्त छैन। किसानका अनुसार मेसिनबाट धान काट्न समेत पालो पर्खेर दुईदेखि तीन दिनसम्म कुर्नुपर्ने अवस्था छ ।
धान झार्न थ्रेसरको प्रयोग भने धेरै किसानको खेतमा पुगिसकेको छ । यसले धान झार्ने कामलाई केही सहज बनाएको छ । तर, धान काट्ने, बोकेर ल्याउने र पराल थन्क्याउनेजस्ता काममा अझै पनि जनशक्तिकै आवश्यकता पर्छ ।
आधुनिक कृषि उपकरण सबै किसानको पहुँचमा नहुँदा र उपलब्ध उपकरणले खेतीका सबै काम गर्न नसक्दा श्रमिक अभावको असर कम हुन सकेको छैन । कामदारको भरमा खेती गर्नुपर्ने किसानलाई व्यस्त मौसममा जनशक्ति नपाउँदा थप समय र खर्च लाग्ने अवस्था छ ।
धान भित्र्याउनेदेखि अर्को बाली लगाउनेसम्मको चटारो
सर्लाहीको उत्तरी भेगमा अहिले धान काट्ने कामसँगै पराल थन्क्याउने, मास उखेल्ने, बोडी टिप्ने र तोरी छर्ने काम पनि एकैपटक परेको छ । खेतीका विभिन्न कामको चाप बढेपछि सीमित जनशक्तिलाई व्यवस्थापन गर्न किसानलाई कठिन भएको छ ।
यता, जिल्लाको दक्षिणी भेगमा भने ढिलो पाक्ने जातको धान लगाइएकाले तिहार र छठ आसपास धान काट्ने समय हुने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । यसले उत्तरी र दक्षिणी क्षेत्रमा धान भित्र्याउने समय फरक भए पनि समग्र जिल्लामा कृषि श्रमिकको माग बढ्ने देखाउँछ ।
कृषि क्षेत्रमा कामदार अभाव बढ्नुमा वैदेशिक रोजगारीप्रतिको आकर्षण पनि एउटा कारणका रूपमा हेरिएको छ । खेतीपातीमा संलग्न हुने जनशक्ति घट्दै जाँदा परम्परागत श्रम प्रणालीमा आधारित कृषि उत्पादन प्रभावित हुन थालेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सर्लाहीमा करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । त्यसमध्ये आधाजति धान पाकेर भित्र्याउने अवस्थामा पुगेको छ ।
समयमै बाली भित्र्याउन नसक्दा किसानले भोग्नुपर्ने जोखिमले कृषि क्षेत्रमा आधुनिक उपकरणको पहुँच विस्तार, कृषि श्रमिकको उपलब्धता र खेतीलाई सहज बनाउने उपायको आवश्यकता फेरि उजागर गरेको छ ।
खेतमा धान पाकेर तयार हुनु मात्रै किसानका लागि पर्याप्त छैन । त्यसलाई समयमै काटेर सुरक्षित रूपमा घरसम्म पुर्याउन सकिए मात्र वर्षभरिको मेहनतले सार्थकता पाउँछ । अहिले सर्लाहीका किसानका लागि मुख्य चुनौती पनि यही बनेको छ- खेतमा पाकेको धान मौसम र किराको जोखिमबाट जोगाउँदै कसरी समयमै भित्र्याउने ?




