बारा । बाराको कोल्हवी नगरपालिका २ स्थित निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो करिब ३:२५ बजे स्थानीय खेतको डिलमा एक पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो ।
अन्दाजी ६० देखि ६२ वर्ष उमेरका ती पुरुषको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको र मृतकको पहिचान तथा मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ । उनले घाँटीमा सेतो र हरियो धर्सा भएको गम्छा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए । उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साहिँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ ।
मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरी पहिचान खुलाउन सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । यस सम्बन्धमा जानकारी दिन प्रहरीको आपत्कालीन नम्बर १०० वा ९८५५०४५१०१ र ९८५५०४८१०१ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




