महोत्तरी । महोत्तरीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको खजुर, सुर्ती, तुलसीको पत्तासहित ढुवानीमा प्रयोग गरिएको अटो बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेका सामान र अटोसहितको कुल मूल्य ७ लाख २ हजार रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले सोमबार बिहान ६:३० बजे मटिहानी नगरपालिका ७ स्थित भुट्टा गल्लीबाट उक्त सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार सशस्त्र प्रहरीका एसपी हरि बहादुर गुरुङको कमान्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ज १ ह ४४२६ नम्बरको अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिएको हो ।
टोलीले अन्दाजी १ लाख ६० हजार रुपैयाँ मूल्यका ३२ कार्टुन खजुर, २० हजार रुपैयाँ मूल्य बराबरको ४० किलो सुर्ती र ७२ हजार रुपैयाँ मूल्य बराबरका २४० प्याकेट तुलसीको पत्ता बरामद गरेको छ । त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको अटोको मूल्य अन्दाजी ४ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि अटो चालकले अटो र सामान छाडेर फरार भएको बताइएको छ । बरामद गरिएका सामान र अटोलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।




