बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका ५ इटियाहीमा विषालु कोब्रा सर्पले डस्दा चार वर्षीय बालकको ज्यान गएको छ । मावली घरमा बस्दै आएका बालकको उपचारका लागि अस्पताल पुर्याइए पनि ज्यान जोगाउन नसकिएको हो ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पकडिया निवासी गजेन्द्र प्रसाद पालका छोरा आदित्य प्रसाद पालको आइतबार साँझ सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनी करिब एक महिनादेखि आमासँगै इटियाहीस्थित मावली घरमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५:३० बजे घरअगाडि खेलिरहेका बेला बालकलाई कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो । सर्पले डसेपछि अवस्था गम्भीर बनेका उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो ।
तर, अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ करिब ६ बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी मुसहर्वाबाट प्रहरी सहायक निरीक्षक मनोज साह सोनारको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो ।
बालकका मामा जितेन्द्र कुमार पालले साँझ ७:४० बजे अस्पतालबाट शव घर ल्याएको प्रहरीले जनाएको छ । घटनाले परिवारमा शोक छाएको छ । बालकको मृत्युबारे प्रहरीले थप विवरण संकलन गर्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




