वीरगञ्ज । वीरगञ्ज-रक्सौल जोड्ने नेपाल-भारत मैत्री पुलमा ई-रिक्साको अव्यवस्थित पार्किङका कारण सीमा वारपार गर्ने यात्रुले सास्ती खेप्नुपरेको भन्दै सरोकार मञ्चले तत्काल व्यवस्थापन गर्न माग गरेको छ ।
पुलको दुवैतर्फ ई-रिक्सा जथाभावी पार्किङ गर्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ । बिहानदेखि साँझसम्म पुल आसपास हुने अव्यवस्थित पार्किङका कारण जामको समस्या बढ्दै जाँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा सीमावर्ती क्षेत्रका नागरिकले हैरानी खेप्नुपरेको मञ्चले जनाएको छ ।
यसै समस्यालाई लिएर मञ्चका प्रतिनिधिहरूले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै पुल क्षेत्रको यातायात व्यवस्थापन प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छन् ।
पर्वको भीडअघि नै व्यवस्थापन गर्न माग
दीपावली र छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज-रक्सौल नाकामा यात्रु तथा सवारीसाधनको चाप बढ्ने सम्भावनालाई ध्यानमा राख्दै मञ्चले समयमै आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
पर्वका बेला किनमेलका लागि नेपाल र भारत दुवैतर्फबाट ठूलो सङ्ख्यामा मानिस रक्सौल बजार पुग्ने भएकाले मैत्री पुल आसपासको आवागमन थप अस्तव्यस्त हुन सक्ने मञ्चको चिन्ता छ ।
सामान्य अवस्थामा समेत पार्किङ व्यवस्थापनको अभावमा जामको समस्या देखिँदै आएको अवस्थामा पर्वको भीड बढेपछि यात्रुले झन् बढी सास्ती भोग्नुपर्ने अवस्था आउन सक्ने मञ्चले जनाएको छ । त्यसैले समस्या गम्भीर बन्नुअघि नै सम्बन्धित निकायले प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।
ई-रिक्साका लागि छुट्टै पार्किङस्थल तोक्न सुझाव
मञ्चले मैत्री पुलको दुवैतर्फ ई-रिक्सा जथाभावी पार्किङ गर्न रोक लगाउन, तिनका लागि छुट्टै पार्किङस्थल निर्धारण गर्न तथा नियमित अनुगमनको व्यवस्था मिलाउन माग गरेको छ ।
पुलजस्तो संवेदनशील सीमा क्षेत्रमा सवारी व्यवस्थापन व्यवस्थित हुन नसक्दा यात्रुको समय खेर जाने मात्र नभई दैनिक आवागमन समेत प्रभावित हुने गरेको मञ्चको ठहर छ । ई-रिक्सालाई निश्चित स्थानमा पार्किङ गर्ने व्यवस्था कार्यान्वयन गर्न सके जाम न्यूनीकरण हुनुका साथै नेपाल-भारतबीच आवतजावत गर्ने सर्वसाधारणले राहत पाउने मञ्चको विश्वास छ ।
ज्ञापनपत्र बुझाउने क्रममा सरोकार मञ्चका सचिव राजेश कुमार वर्मा तथा सदस्यहरू रञ्जन किशोर मिश्र र पिंकी कुमारी उपस्थित थिए । ज्ञापनपत्र बुझ्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने र यसको दीर्घकालीन समाधान खोज्ने आश्वासन दिएको मञ्चले जनाएको छ ।




