रौतहट । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको सम्भावित प्रभावका कारण रौतहटमा हावाहुरी, भारी वर्षा र चट्याङको जोखिम बढ्न सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कात्तिक १२ देखि १५ गतेसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सबै पक्षलाई अपिल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
बाढी तथा डुबानको जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान र स्थानान्तरणमा समस्या भए सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग सहयोग लिन प्रशासनले अनुरोध गरेको छ ।
रातिको यात्रा नगर्न र मौसमको जानकारी लिएर मात्रै हिँड्न सुझाव
सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्नुपर्ने अवस्था आएमा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै प्रस्थान गर्न सुझाव दिइएको छ ।
यात्राका क्रममा मौसम बिग्रिएमा जबर्जस्ती गन्तव्यमा पुग्ने प्रयास नगरी नजिकैको सुरक्षित स्थानमा आश्रय लिन पनि प्रशासनले अनुरोध गरेको छ ।
जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता
सम्भावित विपद्का बेला बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बिरामी बढी जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकतामा राख्न स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
त्यसैगरी, प्रतिकूल मौसमका कारण कृषि उपजमा क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै किसानलाई धान काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य सम्भव भएसम्म कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न प्रशासनले अनुरोध गरेको छ ।
बाढीको निगरानीदेखि उद्धारको तयारीसम्म जोड
सम्भावित जोखिम न्यूनीकरणका लागि प्रशासनले माथिल्लो तटीय क्षेत्रमा बाढीको अवस्था निरन्तर निगरानी गर्न, सम्बन्धित निकायबीच सूचना आदानप्रदान प्रभावकारी बनाउन तथा पूर्वसूचना प्रणालीलाई चुस्त राख्न आग्रह गरेको छ ।
स्थानीय तह, सुरक्षा निकाय तथा विपद् स्वयंसेवकलाई आवश्यक समन्वय कायम गरी विपद् आइपरे तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा रहन पनि भनिएको छ ।
चक्रवातको सम्भावित प्रभावलाई सामान्य रूपमा नलिई समयमै सावधानी अपनाउनुपर्नेमा जोड दिँदै प्रशासनले सरकारी निकाय र नागरिकबीचको सक्रियता तथा सहकार्यबाट मात्रै सम्भावित क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ ।
आपत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्न आग्रह
विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा सहयोग तथा समन्वयका लागि प्रशासनले निम्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
– नेपाल प्रहरी: १००
– सशस्त्र प्रहरी बल: ११४४
– जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४
प्रशासनले चक्रवातको सम्भावित प्रभावबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबैलाई सतर्क रहन, आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।




