रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । सरकार गठन भएको ६ महिना नपुग्दै पार्टीको नेतृत्व तहबाटै प्रधानमन्त्रीलाई विस्थापित गर्ने रणनीति बनिरहेको उहाँको दाबी छ ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारलाई अन्य राजनीतिक दलबाट तत्काल कुनै खतरा नरहेको दाबी गर्नुभयो । तर, रास्वपाको आन्तरिक नेतृत्वबीचको गतिविधिले प्रधानमन्त्री शाहको राजनीतिक भविष्यबारे प्रश्न उठाएको उहाँले बताउनुभयो ।
साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वउपसभापति तथा वर्तमान सभामुख डीपी अर्यालबीच प्रधानमन्त्री शाहलाई कमजोर बनाउने उद्देश्यले मोर्चाबन्दी भएको आरोप लगाउनुभयो । उहाँले यसबारे भविष्यमा थप तथ्य सार्वजनिक हुने दाबीसमेत गर्नुभयो ।
रास्वपाका नेताहरूको पछिल्लो विदेश भ्रमणलाई पनि साहले शंकास्पद रूपमा व्याख्या गर्नुभएको छ । सभापति लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी तथा हालै पुन: भारततर्फ धार्मिक यात्राका लागि गएको प्रसंग उल्लेख गर्दै उहाँले पार्टीका शीर्ष नेताहरूको लगातारको भ्रमणलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको सन्दर्भ जोड्दै उहाँले यी गतिविधिबारे प्रश्न उठाउनुभएको हो ।
प्रधानमन्त्री शाहलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै राजनीतिक रूपमा उपयोग गर्ने रणनीति रास्वपाभित्र रहेको साहको आरोप छ । उहाँले पार्टीको ध्यान देशको शासन सञ्चालन र जनताको समस्याभन्दा चुनाव जित्ने तथा सत्ता र पद सुरक्षित गर्ने विषयमा केन्द्रित भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा साहले रास्वपाको चुनावकेन्द्रित राजनीतिप्रति आलोचना गर्दै भन्नुभयो, “घण्टीहरुलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो, देश र जनताको बारेमा यिनीहरुलाई कुनै चिन्ता छैन ।”
यसैगरी, साहले रास्वपाका सभापति लामिछानेका समर्थक कार्यकर्ताहरूको सामाजिक सञ्जालमा प्रस्तुत हुने शैलीमाथि पनि प्रश्न उठाउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालमा गालीगलौज र असभ्य अभिव्यक्ति बढ्नुले सामाजिक सम्बन्ध तथा राजनीतिक संस्कारमा नकारात्मक असर पारिरहेको छ ।
साहले यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गर्दै सत्ता, पद र निर्वाचनलाई मात्रै प्राथमिकता दिने राजनीतिक प्रवृत्तिले देश र जनताको हितलाई ओझेलमा पार्न सक्ने बताउनुभयो ।




