काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी सातादेखि नेपालको मौसममा फेरबदल आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मंगलबारसम्म देशको मौसम सामान्यतया सफा रहनेछ । बुधबारदेखि भने उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक १० देखि १५ गतेसम्म देशका अधिकांश भूभागमा मौसमी प्रणालीको प्रभाव देखिन सक्छ । तर, वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ ।
हाल देशभर उल्लेख्य वर्षा भएको छैन । कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको विभागले जनाएको छ ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई धान काट्ने र बाली भित्र्याउने काम कात्तिक ७ गतेभित्रै सम्पन्न गर्न आग्रह गरेको छ । आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने भएकाले कृषि, पर्यटन तथा खेलकुद गतिविधिमा समेत असर पर्न सक्ने विभागको आकलन छ ।
न्यूनचापीय प्रणालीको प्रभावले नेपाल प्रिमियर लिग (एनपीएल) लगायत खेलकुद प्रतियोगितामा पनि असर पार्न सक्ने सम्भावना रहेको छ । त्यसैले बाह्य कार्यक्रम, भ्रमण तथा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यान दिन विभागले अनुरोध गरेको छ ।
मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न र आवश्यक परे ११५५ नम्बरमा फोन गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।




