सर्लाही । सर्लाहीको गोडैता नगरपालिका ६ बगदहमा घाँटी काटिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ । बुधबार दशैँका दिन स्थानीय लालबाबु राउतकी करिब १३ वर्षीया छोरी मौसम कुमारी राउतको शव आफ्नै उखुबारीमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार बालिका बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट निस्किएकी थिइन् ।
साँझ स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि करिब ४:३० बजे प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । प्रहरी निरीक्षक केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटेको देखिएको छ ।
गोडैता नगरपालिका ६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका बिहान उखुको पात काट्न खेतमा गएको र साँझ आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार बालिकाले उखुबारीमा केही उखुका पात समेत काटेकी थिइन् । बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




