सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका १ आपघारीस्थित क्रसर उद्योगमा प्रयोग हुने पानी पोखरीमा डुबेर आमा-छोरीको मृत्यु भएको छ । दशैँ मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार दिउँसो आमा-छोरी पोखरीमा नुहाइरहेका थिए । सोही क्रममा बालिका खेल्ने क्रममा पोखरीमा डुबेकी थिइन् । छोरी डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवी समेत डुबेकी थिइन् । घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशैँ मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन् । घटनाबारे सिन्धुली प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।




