सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका ८ निवासी दुई जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा पक्राउ गरेको छ । सोही वाडको विद्युत् कार्यालय नजिक झैझगडा तथा कुटपिट गरी ज्यान मार्नेसम्मको कसुर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार गत बुधबार राति करिब ९:१० बजे भएको कुटपिटमा कञ्चनरूप नगरपालिका ८ का १८ वर्षीय राहुल सरवरिया, १९ वर्षीय श्रवण सदा र २८ वर्षीय राजु सदाको टाउकोमा चोट लागेको थियो । घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा घटनाको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले सोही ठाउँका १९ वर्षीय हिमेश पासमान र १९ वर्षीय श्रीचन्द्र मण्डललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।




