पर्सा । पर्सामा लागुऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको कारबाहीका क्रममा असोज महिनामा २४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त अवधिमा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता भएका छन् ।
प्रहरीले असोज महिनामा विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरेको छ । बरामद लागुऔषधमा ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपाल–भारत सीमावर्ती सहर वीरगन्ज र भारतीय सहर रक्सौल आसपासका नाकाबाट लागुऔषध ओसारपसार हुने गरेको छ । खुला सीमाका कारण अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायलाई चुनौती थपिएको छ ।
भारतीय बजारमा उपलब्ध कतिपय औषधि तथा लागुऔषध नेपालतर्फ अवैध रूपमा भित्र्याउने गरेको आशंका सुरक्षा निकायले गर्दै आएका छन् । सीमा क्षेत्रमा निगरानी बढाइए पनि विभिन्न वैकल्पिक मार्ग प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गतिविधि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
कारोबारमा संलग्न व्यक्तिको पहिचान, सञ्जालको खोजी र मुख्य कारोबारीसम्म पुग्नु प्रहरीका लागि चुनौतीपूर्ण देखिएको छ । लागुऔषधको अवैध कारोबारले सार्वजनिक सुरक्षा र युवापुस्ताको स्वास्थ्यमा समेत जोखिम बढाउन सक्ने भएकाले यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रभावकारी निगरानी, नियमित अनुसन्धान र नेपाल–भारतका सुरक्षा निकायबीच समन्वय आवश्यक देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले उपलब्ध साधनस्रोतको उपयोग गर्दै लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले प्रयास गरिरहेको बताए । प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।




