हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित बादरेभीरमा भाडाको विद्युतीय सवारीसाधन (इभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको इभी आइतबार दिउँसो दुर्घटनामा परेको हो ।
बा.प्र.०३–००१ ज ०६७४ नम्बरको इभी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
घाइतेमध्ये एकै परिवारका सदस्यलाई थप उपचारका लागि चितवनस्थित सिएमसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा रौतहटको दुर्गाभगवती नगरपालिका १ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलम, दुर्गाभगवती गाउँपालिका १ पिपराटोलका ५० वर्षीय हरि साह घाइते भएका छन् ।
त्यस्तै, हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साह तथा उनका नातिनातिना पाँच वर्षीय आर्यन साह, शान्ति कुमारी साह र शिवान्स साह पनि दुर्घटनामा घाइते भएका छन् ।
यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका ११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका ४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनामाई नगरपालिका ४ का १६ वर्षीय विजय कुमार ठाकुर घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरूको खुट्टा, नाक, काँध, मुख, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । दुर्घटनाको कारणबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।




