सर्लाही । प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको विशिष्ट आतिथ्यतामा उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न सातौँ बार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को कुल आय व्याय प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०७७/७८ को अनुमानित आय व्याय समेत संस्थाका कोषाअध्यक्ष राम प्रसाद देवकोटाले प्रस्तुत गर्नु भएको थियो ।
आ.व. २०७६/०७७ को कुल आय व्याय रु ५० लाख ८१ हजार ७ सय १४ रुपैँया ६७ पैसा र आ.व. २०७७/०७८ को अनुमानित आय व्याय रु ६३ लाख २ सय ५० रुपैँया प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष कल्याण कुमार जोशीको अध्यक्षतामा भएको संस्थाको सातौँ वार्षिक साधारण सभामा उपस्थित वक्ताहरुले व्यापारीहरुको अनुहार हंसिलो पार्न स्थानिय, प्रदेश र केन्द्र सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।
उनीहरुले कोरोना महामारीका कारण थलिएका व्यापारीहरुलाई तिनै तहका सरकारले केही कर छुटको व्यावस्था गर्नुपर्ने माग गरेका छन् ।
यता कार्यक्रमकी विशिष्ट अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले उद्योग बाणिज्य संघ लालबन्दी र लालबन्दी नगरपालिकाको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउनुभयो ।
उहाँले कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लालबन्दीलाई लालबन्दी नगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो । नगरको विकासमा उद्योग बाणिज्य संघ लालबन्दी र नगरपालिकासंगै जानेमा दुइमत नरहेको उहाँको भनाई छ । साथै अहिलेको कार्य समितिले आफ्नै भवन निर्माण गरि कार्यालयको सेवा सुभारम्भ गरेको प्रति उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी र उहाँको टिमलाई बधाई तथा धन्यवाद समेत दिनु भएको छ ।
लालबन्दी नगरपालिका ६ को विणा चलचित्र मन्दीरमा भएको सातौँ वार्षिक साधारणमा सभामा छिमेकी उद्योग बाणिज्य संघका अध्यक्षहरु, करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख, लालबन्दी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत उद्योग बाणिज्य संघ लालबन्दीमा आवद्ध निजि क्षेत्रका व्यापारी व्यवसायीहरु र उद्योगपतिहरुको उपस्थिती रहेको उद्योग बाणिज्य संघ लालबन्दीका महा सचिव दिपेन्द्र कुमार बलम्पाकीले जानकारी दिनुभयो ।






