काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएका नेताहरूलाई तत्कालको लागि अवसर मात्रै, नभएर भविष्य पनि भएको दाबी गरेका छन् ।
प्रदेश २ को चार सांसद पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर एमालेमै रहने भएपछि यस्तो बताएका छन् । उनले प्रदेश २ मा ४ जना प्रदेश सांसद माओवादी किन छोडे ? सुदूरपश्चिममा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? भन्ने प्रश्न गर्दै एमालेमा भविष्य भएको दाबी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’
नेकपाको एकता भंग भएपछि प्रचण्डलाई छाडेर रामचन्द्र मण्डल, ज्वाला कुमारी साह र कुन्दन प्रसाद कुशवाह र मोहम्मद समिर एमालेमै रहने भएका छन् । उनीहरूलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया समेत अघि बढाइसकेको छ ।






