जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय धनुक दासको मृत्यु भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको र दासको बायाँ पाखुरामा गोली लागेको छ । स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटना बारे अनुसन्धान भइरहेको बताए । गोली कसले र किन चलाएको भनेर अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।




