सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा रहेको लखन्देही नदीमा अवैध उत्खनन् भएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार माथी दुर्व्यवहार भएको छ ।
लालबन्दी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागी लगाएको ठेक्कामा ठेकेदार कम्पनीले गैर कानुनी रुपमा उत्खनन् गरेको भन्दै उत्खनन् स्थलमा प्रहरी टोलीसंग समाचार संकलनमा लागि पुगेका पत्रकारद्धय शंखर पहाडी (एस.पी. गौरब) र रमेश अधिकारी (रितिक) माथि ठेकेदार कम्पनीका प्रतिनिधिहरुबाट धम्की, दुर्व्यवहार एवम् गालीगलौज भएको हो ।
राष्ट्रिय समाचार समिति (रासस) र सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता एवम् कमलामाई मिडिया प्रा.लि., सर्लाही सञ्चार गृह प्रा.लि., नेपाल पत्रकार सञ्जाल प्रा.लि.का अध्यक्ष पत्रकार पहाडी र न्युज २४ टेलिभिजनका सर्लाही सम्वाददाता एवम् कमलामाई मिडिया प्रा.लि., सर्लाही सञ्चार गृह प्रा.लि., नेपाल पत्रकार सञ्जाल प्रा.लि.का बजार व्यवस्थापक अधिकारी माथी ठेकेदार कम्पनीका प्रतिनिधिले धम्की, दुर्व्यवहार, गालीगलौज गर्नुका साथै क्यामेरा खोस्न खोज्ने, मोटरसाईकलको चावि खोस्ने लगायतका गतिविधि गरेका भन्दै सम्बध मिडियाहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
लालबन्दी नगरपालिकाको मिति २०७९/०६/२८ गतेको निर्णयबमोजिम स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ को घ (६) को व्यवस्था, मधेश प्रदेशको आर्थिक ऐन, २०७९ को दफा ७, “ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७” मा निर्धारित प्रक्रियामार्फत लालबन्दी नगरपालिकाले मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि. हरिवनलाई रु ६० लाख ४५ हजार पाँच सयमा दिएको ठेक्कामा मापदण्ड विपरित स्काईभेटर लगाएर उत्खनन् गरिएको खबर पाएपछि पुगेको प्रहरी टोलीसँग पुगेका पत्रकारद्वय माथी
दुर्व्यवहार भएको हो ।
ठेकेदार कम्पनीका प्रतिनिधिबाट विभिन्न किसिमका अपाच्य गालीलगौज, धम्की र दुर्व्यवहार गरिँदा पनि घटना स्थलमै रहेका प्रहरी मौन देखिनुले पत्रकारद्धय सम्बध मिडियाहरुको गंभिरध्यानाकर्षण भएको संचार गृहले जनाएको छ ।
साथै ठेकेदार कम्पनीका प्रतिनिधिले आफू पनि सर्लाही कै भएकाले देखाई दिने भन्दै धम्की लाउनुले स्वतन्त्र पत्रकारीताको मर्म र भावनामाथी आँच पुग्नुका साथै समाचार संकलनको समयमा असुरक्षित समेत रहेको महसुस गर्दै धम्की लगाउने ठेकेदार कम्पनीका प्रतिनिधिलाई हदैसम्मको कानुनी कार्बाहीको समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।
यता, सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि, बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १ स्थित लखन्देही खोलाको ७ नं टोल नजिकै मापदण्ड विपरित गिट्टि, बालुवा उत्खन्न गरी लोड गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त प्रहरी टोलीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको हो ।
ठेकेदार कम्पनीले मापदण्ड विपरित स्काईभेटर लगाएर उत्खनन् गरिएको पाएपछि प्रहरीले नौ वटा टिपर र दुई वटा स्काइभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ना ७ ख २६६५, ना ७ ख ८९२१,ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्र–२–०३–००१ ख ४२४३ नम्बर र प्र–२–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा स्कारइभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका नौ टिपर र दुई स्कारभेटरका साथै तीनका चालकहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको र उनीहरुलाई स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ को घ (६) को व्यवस्था, मधेश प्रदेशको आर्थिक ऐन, २०७९ को दफा ७ र ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो संसोधन) मापदण्ड २०७८ अनुसार आवश्यक कार्बाही हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक विजय यादवले बताए ।
यता, लालबन्दी नगरपालिकाले आईइइ अनुसार ठेक्का लगाएको र ठेक्कामा मापदण्ड विपरित भए नभएको विषयमा प्रहरीले समन्वय गरेको भए राम्रो हुने र आफुहरुले पनि सम्झौता अनुसार भए नभएको अनुगमन गरि आवश्यक कार्बाही प्रक्रियामा जाने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए ।
सर्लाहीका नदीहरुका साथै चुरे फेदीहरुमा राष्ट्रिय गौरबका आयोजनाहरुका नाममा हरेक वर्ष मापदण्ड विपरित नदीजन्य पर्दाथको दोहन तथा उत्खनन् हुने गरेको भएपनि प्रहरीले नियन्त्रणमा लिने र सामान्य कार्बाही पश्चात छुट्ने गर्दा दिन प्रतिदिन बिक्रृतीको रुपमा यस प्रकारका कार्यहरु बढ्दै गई रहेका छन् ।




