काठमाडौं । सिरहामा दिनदहाडै प्रहरीको हतियारसहित ९ लाख रूपैयाँ लुटपाट भएको छ । बुधबार दिउँसो मिर्चैया–कल्याणपुर सडकखण्डस्थित कटहा पुलनजिकै मनि ट्रान्सफरका कर्मचारीको साथबाट लुटेराले ९ लाख रूपैयाँ लुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशराज पाण्डेले ज ६ प ४२५६ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कल्याणपुरतर्फ गइरहेका कल्याणपुरस्थित राजाराम मनि ट्रान्सफरका कर्मचारीको साथबाट ९ लाख रूपैयाँ लुटपाट गरिएको बताए ।
घटनाको थप विवरण आउन बाँकी रहेको र डिएसपी पाण्डेले अहिले खोज तलासमा लागेकाले थप विवरणपछि दिने जानकारी दिए । लुटेराले प्रहरीको सुरक्षा लिएर गईरहेका मनि ट्रान्सफरका कर्मचारीको साथबाट रकमसहित प्रहरीको हतियारसमेत खोसेर लगेको छ ।
लुटेरा खोज्न सिरहाका हरेक सडकखण्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




