सर्लाही । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’को चुनाव स्थगित गरेको सूचना निकालेपछि विभिन्न विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेको छ तर सुखेपोखरी क्याम्पसले भने चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी सङ्गठनले आन्दोलन सुरु गरेका हुन् ।
तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै चार वटा विद्यार्थी सङ्गठनले आइतबार बिहान केहीबेर सुखेपोखरीस्थित पूर्व-पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस निकट नेविसङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) र जसपा नेपाल निकट सङ्घीय समाजवादीमा आवद्ध विद्यार्थीले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन् ।




