काठमाडौं । फागुन २८ गते प्रहरीले वीरगन्ज महानगरपालिका– १६ इनर्वाबाट भन्सार छली गरी ल्याइएको सामान बरामद गर्यो । त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका २ लाख २९ हजार मुल्य बराबरका कपडा रहेको र फागुन २९ गते वीरगन्ज भन्सारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
फागुन १७ गते वीरगन्ज प्रहरीले वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट बिल बिजकभन्दा फरक सामान लोड गरिएको भारतीय नम्बरको पिकअप जिप नियन्त्रणमा लियो । बिल बिजकभन्दा बढी विभिन्न किसिमका करिब २५ लाख रूपैयाँका लत्ताकपडा बोकेको बिआर ०५ जिबी ९३२३ नम्बरको पिकअप जिप नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो ।
फागुन ८ गते राति प्रहरीले वीरगञ्ज महानगरपालिका –१६ ईनर्वाबाट भन्सार छली गरी ल्याइएको कपडा बोकेको ना ७ ख ७९७७ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो ।मालवाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाई उक्त फल्स बटममा करिब एक लाखको कपडा बरामद गरी ट्रकसहित २१ लाख ७ हजार ८ सय रूपैयाँ बिगोसहित फागुन १० गते प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थियो ।
फागुन ५ गते वीरगन्ज महानगरपालिका २५ सिर्सियाबाट प्रहरीले बिलबिजक भन्दा बढी मुल्यको विभिन्न किसिमका स्टेसनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्र्याक्टर नियन्त्रणमा लियो । ना ५ ख ५४९४ ट्र्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रकबाट बिल बिजकभन्दा बढी स्टेसनरी तथा खुद्रा सामान बरामद गरिएको थियो ।
सामानसहित ट्रक र ट्र्याक्टरको ९२ लाख ४८ हजार ८ सय २२ रूपैयाँ मूल्यांकनसहित प्रहरीले सामानसहित ट्रक र ट्र्याक्टर फागुन ८ गते कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।
माघ २८ गते वीरगन्ज महानगरपालिबा–२५ ड्रइपोर्टबाट प्रहरीले तस्करीको सामान रहेको आशंकामा दुईवटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लियो । वीरगन्जबाट काठमाडौं जाँदै गरेका ना ६ ख ४००६ र ना६ ख ४६०८ नम्बरको मालवाहक कन्टेन्टर लोड ट्रक नियन्त्रणमा लिएर जाँच गर्दा कन्टेनरमा सिलबन्दी नरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कन्टेनर जाँच गर्दा दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रूपैयाँ मुल्य बाराबरको कपडा बरामद गरिएको थियो । सिलबन्दी नभएको शंकास्पद अवस्थामा भेटिएका कपडासहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाइएको थियो ।
सेटिङको नमूना
भन्सार कार्यालयसँगको सेटिङमा ट्रक, कन्टेनर, ट्र्याक्टर र जिपमा वीरगन्ज भन्सार क्षेत्रबाट भन्सार छली गरी मालसामान भित्रिनु नौलो होइन । भन्सार कार्यालयको मिलेमतोमा कम राजस्व बुझाउनुपर्ने मालसामानको प्रज्ञापनपत्र बनाएर बढी मुल्यको मालसामान पास गर्ने गरेको खुलेको छ ।
प्रशासनसहित प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१० स्थित स्विटमार्ट फुड इंडस्ट्रिजको गोदाममा शनिबार सिल गरेको छ । भन्सार कार्यालयसँगको सेटिङमा भारतबाट जुत्ताको सोल बनाउनमा प्रयोग गरिने बुटाएल रबर प्रज्ञापत्रमा उल्लेख गरी च्युइंगममा प्रयोग हुने गम बेस आयात गरेको सूचनाका आधारमा प्रहरीले गोदाम सिल गरी कागजपत्र नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) कोमल शाहका अनुसार निरन्जन अग्रवाल सञ्चालक रहेको स्वीटमार्ट फुड इंडस्ट्रीजले ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिबृद्धी कर लाग्ने गम वेस पौने ५ रूपैयाँ मात्र भन्सार महसुल लाग्ने बुटाएर रबरको नामबाट आयात गरिएको छ ।
उनले भने, ‘वीरगन्ज भन्सारबाट विगत केही वर्षदेखि यसैगरी भन्सार राजस्व छल्दै आयात गर्दै आएको पाइएको छ ।’ उद्योगबाट बरामद गरिएको मालवस्तुहरूको प्रज्ञापत्र देखाउन भनेपछि उद्योग सञ्चालक सम्पर्कविहीन बनेको एसपी शाहले बताए ।
च्युइंगममा प्रयोग हुने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट (मूल्य अभिबृद्धि कर) छलेर सरकारले जुत्ता उद्योगको सहुलियतको लागि भन्सार महसुल पौनो ५ रूपैयाँ मात्र तोकेको हालो आइसोबुटेन–आइसोप्रिरन (बुटाएल) रबरको नामबाट भन्सार कार्यालयसँगको मिलेमतोमा आयात गरेको पाइएको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिल्लाराज पन्थीका अनुसार स्विटमार्ट फुड इंडस्ट्रीजले प्रज्ञापत्रमा उल्लेख गरेको मालवस्तुभन्दा फरक मालवस्तु भित्रिएको विषयमा आन्तरिक छानबिन भइरहेको बताए ।
उनले भने, ‘कुनै बेला भन्सारका कर्मचारीले प्रज्ञापत्रमा उल्लेख गरिएको मालवस्तुलाई जाँच नै नगरी प्रज्ञापत्र मात्रै हेरेर मालवस्तु छाडिदिन्छन् । भुलबस यसो हुन गएको भन्दै उनी मिलेमतोलाई ढाकछोप गर्न खोजे । यस भन्सर कार्यालयबाट सेटिङमा न्युन बिजीकीकरण, एउटै प्रज्ञापत्रमा पटकपटक मालवस्तु आयात गर्ने उल्लेखित विवरणबाट प्रष्ट हुन्छ ।
भन्सार छलीका मालवस्तु भित्रिने क्रम बढेपछि यस भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको फागुन २९ गतेसम्म वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली खराब स्थितिमा देखिएको छ ।
वीरगन्ज भन्सार मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार हो । फागुन २८ सम्ममा यो भन्सारले १ खर्ब ६६ अर्ब ७० करोड राजस्व उठाउने लक्ष्य थियो । जसमा १ खर्ब ७२ करोड मात्र राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ । लक्ष्यको ६०.४ प्रतिशत राजस्व असुली भएको देखिन्छ ।
तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउँछ । सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् ।
पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ । पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ । रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिने गरेको प्रमाण हो यो ।
वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन् । विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडा लगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पु¥याउने गरेका छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख पन्थीका अनुसार यस भन्सारको राजस्वमा योगदान गर्ने मुख्य वस्तु नयाँ सवारीसाधन हो । तर सवारीसाधनको आयात करिब ठप्प रहेकाले लक्ष्य अनुरूपको राजस्व संकलन गर्न समस्या भइरहेको उनी बताउँछन् ।
‘वीरगन्ज नाकाबाट राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तु नयाँ सवारीसाधन र इन्धन हुन्,’ उनले भने, ‘इन्धनको आयात नियमित रहेपनि नयाँ सवारीसाधनको आयात भने ठप्प प्रायः छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।




