रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुख सहितका पदाधिकारीहरु माथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । नगरपालिकामा रहेका विभिन्न विषयमा छलफल गर्न बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगित भएपछि विवाद उत्पन्न भएको हो ।
मेयर विनोद पटेल कुर्मी, उपमेयर, वडाध्यक्षहरु कार्यालयबाट बाहिरीने क्रममा विरोध गर्दै आएका ४ जना वडाध्यक्ष सहितका समर्थकहरुले घेरा हालेर ढुंगामुढा गर्न खोज्दा घटना भएको हो ।
विवाद हुँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले सम्झाउँदा नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दै एक राउण्ड टियर ग्यास फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको थियो ।
आईतबार दिउसो ४ बजेसम्म कार्यपालिकामा सहमती नभएर अर्को सुचना नआएसम्मको लागि बैठक स्थगित गरेर उनीहरु बाहिर निस्कने क्रममा घटना भएको हो ।




