सर्लाही । जंगली जनावलाई थापिएको करेन्टमा परि सर्लाहीको बलरामा एक जनाको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो ।
रामअक्षय गएराति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय धरापमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतक राम अक्षयको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।
जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन् ।




