रौतहट । रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा एक प्रहरी निरिक्षकसहित ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइते हुने प्रहरीहरुमा प्रहरी निरिक्षक विरेन्द्र पासवान, वरिष्ठ हवल्दार राकेश यादव, साहयक हवल्दार ओप प्रकाश यादव, राष्ट्रिय अनुसन्धानका सुचक दिपक सिंह लगायतका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रदर्शनकारीतर्फ गरुडा नगरपालिका वडा नम्बर ५ का गजेन्द्र साह रहेको सो कार्यालयले जनाएको छ । उनको स्थानिय हेल्थल्याण्ड अस्पतालमा उपचार पश्चात थप उपचारको लागि विरगंज लगिएको छ ।
प्रदर्शनलाई नियन्त्रण लिने क्रममा १२ राउण्ड हवाइ फायर र ४ राउण्ड टियर ग्यास प्रहरीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका उम्मेदवार रहेका दीपक यादवका समर्थकले गरुडा नगरपालिकामा तालाबन्दी गर्न खोजेपछि विवाद सुरु भएको हो ।
यस अघि सुचनामा माग गर्दै अनसन बसेका यादवले आफुलाई चाहिएको पुरा सुचना नदिएको भन्दै तालाबन्दी गर्न लागेका थिए । प्रदर्शनकारीहरुले गरुडा नगरपालिकाको कार्यालयमा ढुंगा प्रहार गर्दा कार्यालयका सिसा तथा सवारी साधनहरुमा नोक्सान पुगेको छ ।




