काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले कारबाहीले पार्टीको समस्या समाधान नहुने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप ३२ जना नेतालाई चेतावनी सहितको स्पष्टीकरण सोधेपछि नेता विष्टले पार्टीको विवाद कारबाहीले समाधान नगर्ने भन्दै सबै आधिकारिक कमिटी बिउँताउन आग्रह गर्नुभएकाे हाे ।
सामाजिक सञ्जाल फेसबुकमा नेता विष्टले भन्नुभएको छ, ‘विगत केही समययता नेकपा एमालेमा देखापरेका समस्याहरूको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र विना कारण सांसदहरूमाथि कारबाहीका घटनाहरू अघि बढाइएको छ । यस्ता कारबाहीका शृङ्खलाहरूले पार्टी एकतामा गम्भीर सङ्कट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरू बिउँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौँ ।’
नेता विष्टले सर्वाेच्च अदालतको फैसला अनुसार एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिने बताउनुभएकाे छ । उहाँले एउटा इमानदार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथि हुनेमा जाेड दिनुभएकाे छ ।
स्पष्टीकरण पत्रमा पार्टीको विधानमा उल्लेख भएअनुसार ३२ जना नेताहरूले नयाँ दल गठन गरेको मानिएकाले तपाईँहरूलाई सांसद पद र पार्टी सदस्यबाटै किन नहटाउने ? भनेर प्रश्न गरिएको छ ।






