वीरगन्ज । बाराको महागढीमाई नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाले ३ महिनादेखि तलब पाएका छैनन् । ३ महिनासम्म तलब भत्ता नपाएको भन्दै उनीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
मंगलबार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले अबको सात दिनभित्र आफूहरूको तलब भत्ता निकासा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष रामबाबु प्रसाद यादव र सचिव जितेन्द्र प्रसाद साहको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर शिक्षक शिक्षिकाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत माघदेखि यताको तलब भत्ता र गत शैक्षिक सत्रको पोशाक भत्ता पनि अहिलेसम्म नपाएकाले नगरपालिका मातहतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू मारमा परेको गुनासो शिक्षक संघका नगर अध्यक्ष यादवले बताए ।
मंगलबार प्रजिअलाई बुझाइएको ज्ञापनपत्र मार्फत आफूहरूले तीन महिना यताको तलब भत्ता, गत शैक्षिक सत्रको पोशाक भत्ता, चालु शैक्षिक सत्रको पाठ्यपुस्तक, छात्रवृति र दिवा खाजाको रकम ७ दिनभित्र नगरपालिकाको कार्यालयबाट निकासा हुनुपर्ने उनीहरूको माग छ ।




