काठमाडौं । गौर भन्सार कार्यालयका कर्मचारीहरुको ध्यान लिलामको लागि थन्किएको करोडौँको सवारी साधनतर्फ जान नसक्दा कवाड खाना तर्फ परिवर्तन हुँदै गइरहेको छ ।
भन्सार कार्यालयको कम्पाउन्डमा कवाडी बनिरहेको करोडौँको विभिन्न सवारी साधनलाई लिलाम गर्नेतर्फ भन्सार कार्यालयको ध्यान नजाँदा अधिकांश गाडीका पाटपुर्जाहरु बिग्रिन थालेका छन् र राजस्व पनि गुमाएको छ ।
दिन प्रतिदिन मोटरसाइकल लगायत भन्सारमा रहेका सवारी साधन कबाड बन्दै गएका छन् । भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् ।
करिब सात वर्षदेखि विभिन्न समयमा विभिन्न ठाउँबाट पक्राउ गरिएका मोटरसाइकल तथा चार चक्के गाडीहरु थन्किएर बसेका छन् । कतिपय सबारी साधनको विभिन्न पाटपूर्जा खोलेर पनि लगिएको अवस्था देखिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले समातेर भन्सारलाई बुझाएका सबारी साधनहरु वर्षा, घाम र जाडोमा घर बाहिरै रहँदा कति त कामै नलाग्ने गरी खराब भइसकेका छन् ।
भन्सार कार्यालय परिसर, नजिकै रहेको भन्सार सुरक्षा गार्ड र बिओपि गौर आसपासमा करिब पच्चीस सयको संख्यामा मोटरसाइकल थन्किएर बसेका छन् ।
अब लिलाम नगर्ने हो भने सबारी साधन राख्न अन्त कतै जमिन खोज्नुपर्ने आवश्यकता देखिएको छ । जताततै सबारी साधनहरु थन्क्याइएपछि भन्सार कार्यालय, भन्सार सुरक्षा गार्ड र बिओपिको ठाउँ साँघुरो भएको छ ।
भन्सार कार्यालयमा ५० भन्दा बढी कार, जिप, पिकअप तथा ट्रक रहेका छन् । एउटै गाडीको लाखौँ रुपैया पर्ने सबारी साधनहरु समयमा लिलाम हुन नसक्दा बर्बाद भइरहेका छन् ।
चलेको अवस्थामा बरामद भएका सबै सबारी साधनहरुमध्ये अधिकांश चल्न नसक्ने भइसकेका छन् । लाखौँ रुपैयामा लिलाम हुने सवारी साधनहरु समयमा लिलाम नहुँदा कबाडीमा बेच्नुपर्ने अवस्थाको भइसकेको देखिएको छ ।
भन्सार कार्यालयले पनि तत्काल कमिसन आउने गाई, गोरु, भैँसी, खसी, खाद्यान्न तथा मलखादको तत्कालै लिलाम गर्ने गरेको तर देशलाई ठूलो राजस्व आउने तर कर्मचारीलाई खासै फाइदा हुने सबारी साधनको लिलामीमा ध्यान नदिने गरेको आरोप स्थानीयको रहेको छ ।




